कास्की — एमाले नेता सुरेन्द्र पाण्डेले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उटपट्याङ कुरा गरेर जनतालाई भ्रम फैलाएको आरोप लगाएका छन् । पोखरामा बिहीबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले जनतालाई आफूले गर्न नसकिने कामको आश्वासन दिन नहुने बताए ।
‘जुन देशमा समुद्र छैन, त्यही देशमा कसरी पानी जहाज चल्छ ?,’ पाण्डेले भने, ‘ओली गफाडी हुन्, दुई सय वर्षपछि हुने कामलाई पनि अहिले नै भ्रम फैलाइदिन्छन् ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले महिला र बालबालिकाको सवालमा सरकार जिम्मेवार नबनेको बताए । सर्वोच्च अदालतले नेकपा पार्टी नरहेको र एमाले पुरानै अवस्थामा फर्किएको निर्णय गरे पनि अध्यक्ष ओलीले नेकपामा रहेजस्तै एकलौटी काम गरेको उनले आरोप लगाए । ‘एमाले जेठ २ कै अवस्थामा आउँदा ओली आउन चाहँदैनन्,’ उनले भने । ओलीले एकलौटी मनपरी निर्णय गरेको भन्दै उनले आफूहरूले गलत काममा साथ दिन नसकेको बताए ।
पाण्डेले संसद् विघटनको संकट अहिले पनि ज्युँका त्युँ रहेको बताए । ‘नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ’ उनले भने, ‘गलत कामको निरुत्साहित गर्नुपर्छ । पार्टीको आन्तरिक संघर्षमा कसरी जोडिने भनेर सोच्ने बेला आएको छ । हिजोका उपलब्धि र कम्युनिस्ट आन्दोलनलाई जोगाउनुछ ।’
फागुन २८ को निर्णयले नै पार्टीलाई विवादित बनाएको उनले बताए । ‘हामीले चैत २ मा धुम्बाराहीमा बैठक बस्यौं,’ उनले भने, ‘२८ गते भएका सबै निर्णय फिर्ता लिनुस् । तपाईंका चियापान कार्यक्रम स्थगित गर्नुस्, हामी ४ र ५ को भेला स्थगित गर्छौं भन्यौ । उहाँहरू नमानेपछि हामीले कार्यकर्तालाई घटनाक्रम बताउन पनि भेला आयोजना गर्नु थियो, गर्यौं ।’ भेलाले पार्टीको कमिटी गठन गर्ने निर्णय गरेको उनले बताए ।