काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता **नेत्रप्रसाद सुवेदी**द्वारा मंगलबार जारी विज्ञप्तिमा गत वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्नेभन्दा बढी परिमाणमा एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी ग्यासको आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।
यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। साथै नेपाल आयल निगम र ग्यास उद्योगीहरूसँगको समन्वयमा ग्यासको आयात, भण्डारण तथा वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउने सुधारका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वैकल्पिक ग्यास सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन ग्यास व्यवसायीहरूलाई निर्देशन दिएको छ।
साथै, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत कार्य गर्ने वा उपभोक्तालाई अनावश्यक सास्ती दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।


