काठमाडौं : नेकपा एमालेका नेता वामदेव गौतमले केन्द्रीय कमिटीको बैठकमा मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू नै रहेको दावी गरेका छन् । गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा भएको बताए।
गौतमले भनेका छन्, ‘विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिए।’
गौतमले नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको अवस्थामा ल्याइ पुर्याउने महानायक नेपाली कांग्रेस पार्टीका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला, तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको दाबी गरे। उनले भनेका छन्,‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’
पार्टी एकता राष्ट्रिय अभियान संयोजकसमेत गौतमले गणतन्त्र दिवस अवसरमा सबै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गरेका छन्।