क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम आइतबार क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ।
महाधिवेशनमा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता प्रकाश शरण महत, मलेसियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिमल्सिना, एनआरएनए पदाधिकारी र कलाकारको उपस्थिति रहेको थियो।
नेता महतले नेपाली डायस्पोराको योगदानलाई प्रशंसा गर्दै दूतावासको क्षमता अभाव, श्रमिक शोषण, बीमा र भिसासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। राजदूत तिमल्सिनाले मलेसियामा मासिक करिब ४० जना श्रमिकको मृत्यु हुने तथ्याङ्क प्रस्तुत गर्दै शोषण, न्यून तलब र लामो कार्यघण्टा जस्ता समस्यामा सुधार गर्न पारदर्शिता र सहकार्य आवश्यक रहेको बताए।
एनआरएनए अध्यक्ष महेश श्रेष्ठले आफ्नो नेतृत्व वैधानिक भएको स्पष्ट गर्दै श्रमिक अधिकार संरक्षण, लगानी प्रवर्द्धन र रोजगार सुधारका लागि ठोस कार्ययोजना प्रस्तुत गरे। उनले सुरक्षा गार्डहरूको तलब वृद्धि, साप्ताहिक बिदा सुनिश्चित गर्ने तथा एआई–आधारित कल सेन्टर सञ्चालन गर्ने योजना घोषणा गरे।
आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपाने र माओवादी केन्द्र एसिया प्रदेश अध्यक्ष शनि कुमार ओलीले पनि एकताको आवश्यकता औंल्याउँदै महेश श्रेष्ठ नेतृत्वलाई समर्थन जनाए।
महाधिवेशनमार्फत इन्द्र नारायण लिम्बु २०२५–०२७ कार्यकालका लागि एनआरएनए मलेसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। कार्यक्रममा कलाकार शोभा त्रिपाठी र बुद्ध लामाले सांगीतिक प्रस्तुति दिएका थिए।


