काठमाडौ– गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनमा बालकृष्ण मरासिनीले मध्यपूर्व उप–संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालीहरुको मुख्य गन्तव्य मध्यपूर्वका देशहरूमा नेपाली श्रमिकले व्यहोर्नु परिरहेका समस्याहरूको दीर्घकालिन समाधानका लागि युवा पुस्ता सक्रिय हुनैपर्ने समय आएकाले आफूले उम्मेदवारी घोषणा गरेको मरासिनीले बताए ।
मध्यपूर्वका संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, साउदी अरब, कतार, बहराइन, इजरायल, कुवेत नेपाली श्रमिकहरूका प्रमुख गन्तव्य मुलुक हुन् ।
करिब डेढ दशकदेखि संयूक्त अरब इमिरेट्स (यूएई) मा रहँदै आएका मरासिनीले यसअघि एनआरएनए यूएईको विभिन्न पदीय जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका छन् । आफू निर्वाचित भएको खण्डमा संस्थामा शुद्धीकरण अभियान चलाउने र नेपाली समुदाय तथा अन्य संघ संस्थाहरूसंग परामर्श गर्दै सहकार्यमा अघि बढ्ने मरासिनीले प्रतिवद्धता जनाएका छन् ।


