काठमाडौँ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा एनआरएनए अमेरिका र एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका बीच एकता हुने भएको छ।
एनआरएनए एनसीसी अमेरिका—जो टेनेसीमा दर्ता भई स्थापना कालदेखि सञ्चालनमा रहेको छ—र सन् २०२३ देखि सञ्चालनमा आएको एनआरएनए अमेरिकाबीच सहमति जुटेको हो।
एकताका लागि दुबै संस्थाका अध्यक्षहरू डा. अर्जुन बन्जाडे र सूर्य लम्सालबीच लिखित सहमति भएको छ। सहमति अनुसार, डा. बन्जाडे नेतृत्वको एनआरएनए एनसीसी अमेरिकाले अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा सूर्य लम्सालले सहभागिता जनाएका थिए। साथै, लम्साल नेतृत्वको एनआरएनए अमेरिकाले न्यूयोर्कमा आयोजना गर्न लागेको कार्यक्रममा डा. बन्जाडे र अन्य पदाधिकारीहरू उपस्थित हुने पक्का भएको छ।
शुक्रबार बाल्टिमोरमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थामा देखिएको विवादका कारण एनआरएनएप्रति नकारात्मक धारणा बनेको उल्लेख गर्दै गत महिना काठमाडौंमा सम्पन्न एकता महाधिवेशनको मर्मअनुसार संस्थालाई एकजुट बनाउन आफू निरन्तर क्रियाशील रहेको बताए।
सन् २०२२ को मार्चमा काठमाडौंमा छुट्टाछुट्टै दशौँ महाधिवेशनहरू आयोजना भएपछि अमेरिकामा दुई भिन्न एनआरएनए कमिटीहरू गठन भएका थिए।
दुवै पक्षबीच भएको सहमतिले विश्वभरका एनआरएनहरूमा सकारात्मक सन्देश दिएको एनआरएन अभियन्ताहरूको भनाइ छ।


