काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तरराष्ट्रिय महाधिवेशन तथा निर्वाचनको मिति तय भएको छ । एनआरएनएको बृहत् एकतापछि गठन गरिएको स्टेरिङ कमिटीको आइतबार राति बसेको दोस्रो बैठकले आगामी सन् २०२६ फेब्रुअरी २३, २४ र २५ गते महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।
महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाद्वारा जारी विज्ञप्तिमा महाधिवेशनको मिति तयसँगै संस्थागत एकता र सुदृढीकरणका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको उल्लेख छ ।
बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूबीचको एकता सहजीकरण गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरेको छ । समितिको सह–संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छन् भने सदस्यहरूमा नारायण काफ्ले, शनी ओली र चिरञ्जीवी खड्का रहेका छन् ।
यसैगरी, बृहत् एकताको सन्देश प्रवाह गर्न तथा महाधिवेशनको तयारीस्वरूप विभिन्न क्षेत्रमा अन्तरक्रिया र संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । महासचिव लामाका अनुसार डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया र डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्रमा कार्यक्रम आयोजना हुनेछन् ।
बैठकले अनुशासन र जिम्मेवारीलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठकअघि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागिता जनाउन नदिने निर्णय पनि गरिएको छ ।
त्यसैगरी सदस्यता समितिमा दुई जना सदस्य थप गरी सात सदस्यीय बनाउने निर्णयसमेत बैठकले गरेको छ । १२औँ महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन र तत्काल तयारी सुरु गर्न विश्वभर रहेका गैरआवासीय नेपाली समुदाय तथा राष्ट्रिय समन्वय परिषदहरूलाई अपिल गरिएको छ ।
यसअघि मंसिर १४ गते प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका महेशकुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबीच एकता भएको थियो ।


