Tuesday, June 30, 2026
Homeसामाचारएनआरएनएको एकता महाधिवेशन निर्धारित मितिमै गर्न प्रतिनिधिहरूको माग

एनआरएनएको एकता महाधिवेशन निर्धारित मितिमै गर्न प्रतिनिधिहरूको माग

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने माग गर्दै काठमाडौं आइपुगेका प्रतिनिधिहरूले स्पष्ट धारणा व्यक्त गरेका छन्।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले वैशाख २०–२२ गते (मे ३–५, २०२५) काठमाडौंमा आयोजना गर्न आह्वान गरेको महाधिवेशन सुरु हुन चार दिन मात्रै बाँकी रहँदा, सोमबार बेलुका बालुवाटारस्थित नेपाल हाउस क्याफेमा भेला भएका प्रतिनिधिहरूले कुनै हालतमा महाधिवेशन सार्न नहुने माग गरेका हुन्।

स्विजरल्याण्डबाट आएका एनआरएन अभियन्ता गुणराज शर्मा (गुराँस पौडेल) ले लामो समयदेखि विवादमा अल्झिएको संस्थालाई निकास दिन भनेर प्रतिनिधिहरू छुट्टी मिलाएर र महँगो टिकट काटेर आएका हुँदा अब कुनै पनि बहानामा महाधिवेशन स्थगित गर्नु अस्वीकार्य हुने बताए। उनले महाधिवेशनलाई साँचो अर्थमा “एकताको महाधिवेशन” बनाउन सबै पक्षलाई एकजुट हुन आह्वान गरे।

नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष शशी पौड्यालले वैधानिक अधिवेशन सम्पन्न गरी सबल, सक्षम र सर्वसम्मत कार्यसमिति चयन गर्नुपर्नेमा जोड दिए। बेलायतबाट आएका विश्वासदीप तिगेलाले विधिको सम्मान गर्दै संस्थालाई अब अन्योलबाट मुक्त गरिनु पर्ने धारणा राखे।

एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष तथा पूर्व गोर्खा सैनिक प्रेम गाहा मगरले केही स्वार्थी समूहले संस्थालाई “कमाइ खाने भाँडो” बनाएको आरोप लगाउँदै मातृभूमि र समाजसेवाको भावना लिएर एकता कायम गर्नुपर्नेमा जोड दिए।

कतारका व्यवसायी तथा अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले सर्वोच्च अदालतको आदेशको पालना गर्दै नेपाल सरकारले पनि महाधिवेशन सफल बनाउन सहयोग गर्नुपर्ने बताए। जापानका महेश कुमार श्रेष्ठले महाधिवेशन सार्ने सम्भावना असम्भव रहेको बताउँदै, साना विवादलाई अदालत लैजाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने सुझाव दिए।

एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौड्यालले उत्तर अमेरिका, युरोप, मध्यपूर्व र एसिया क्षेत्रका सयौं प्रतिनिधिहरू काठमाडौं आइपुगेको उल्लेख गर्दै, महाधिवेशन सम्पन्नपछि एनआरएन नागरिकता, श्रमिक, गोर्खा तथा लगानीका मुद्दामा सरकारसँग पहल गर्नुपर्ने बताए।

त्यस्तै, बेलायतका थर्क सेनले न्यायालयले दिएको अवसरलाई सदुपयोग गर्दै संस्थालाई सभ्य ढंगले अघि बढाउनुपर्ने धारणा राखे। मलेसियाबाट आएका खगेन्द्र न्यौपानेले निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबै प्रतिनिधिलाई सक्रिय सहभागिताको अपिल गरे।

कार्यक्रममा योगेन क्षेत्री (यूके), डीबी क्षेत्री (ओमान), आशिष पन्त (कतार), गोविन्द श्रेष्ठ (जापान), चिन्तामणि सापकोटा (स्पेन), भीम बहादुर गुरुङ (सिंगापुर), राजकुमार भुजेल (क्याम्बोडिया) र मनोज गोर्खाली (युएई) लगायतका अभियन्ताहरूले विगतका तिक्तता बिर्सेर महाधिवेशनलाई सफल बनाउन एकताबद्ध हुनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका