म्याग्दी । कालोपत्रे गरेको एक महिना पनि नबित्दै म्याग्दीको एक सडक भत्किएपछि सरोकारवाला निकाय र निर्माण व्यवसायीले पुनः मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्। ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत करिब २३ करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको बेनी नगरपालिका–अन्तर्गतको रत्नेचौर–भकुण्डे सडक महिना दिनमै उप्किएर खाल्डाखुल्डी बनेपछि व्यापक आलोचना भएको थियो।
सडकको गुणस्तरमाथि गम्भीर प्रश्न उठेपछि आइतबार जिल्ला समन्वय समितिले सरोकारवालाको बैठक आयोजना गरेको थियो। जिससकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा बसेको बैठकमा सडक डिभिजन कार्यालय बागलुङ र निर्माण व्यवसायीले त्रुटि स्वीकार गर्दै सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। बैठकले सडक डिभिजन कार्यालयलाई निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न निर्देशन दिँदै हालसम्म भएका कामको अनुगमन गरी कमजोरी सच्याउने निर्णय गरेको छ।
उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको करिब साढे चार किलोमिटर सडकमा हालै दोस्रो चरणको कालोपत्रे सम्पन्न गरिएको थियो। तर, सडकमा बिछ्याइएको चिप्स (गिटी) अलकत्राले राम्रोसँग नसमात्दा कालोपत्रे उप्किएको हो। वडा नम्बर २ का अध्यक्ष यामबहादुर कार्कीका अनुसार सडकको बेसमा धुलो रहेकाले अलकत्रा राम्रोसँग जम्न नसक्दा यस्तो समस्या देखिएको हो। यसअघि पुस ४ गतेको सार्वजनिक सुनुवाइमा पनि स्थानीयले सडकको गुणस्तरप्रति चर्को असन्तुष्टि जनाएका थिए।
गजेन्द्र–नयाँबाटो जेभीले ठेक्का लिएको उक्त सडकमा नौ मिटर फराकिलो बनाएर सात मिटरमा डिबिएसडी प्रविधिबाट कालोपत्रे गर्ने सम्झौता छ। सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीले चिसो मौसमका कारण अलकत्रा जमेको र गर्मी बढेपछि पग्लिएर चिप्स मजबुत रूपमा समात्ने दाबी गरेका छन्।
तर, गर्मीयाममा पनि सडकको अवस्था सुधार नभए ठेकेदारलाई पुनः गुणस्तरअनुसार निर्माण गराएर मात्र आयोजना बुझ्ने उनले स्पष्ट पारे। निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाइँले पनि गर्मी बढेपछि बिटुमिन राम्रोसँग सेट हुने दाबी गर्दै त्यसो नभए सडक मर्मत गरेर मात्र हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।


