काठमाडौँ, १७ असार: साङ्घाइ को–अपरेशन अर्गनाइजेशन (एससिओ) द्वारा चीनको झेजियाङ प्रान्तस्थित निङ्बो सहरमा आयोजित पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा सहभागी भई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का गएराति स्वदेश फर्किएका छन्।
चीन भ्रमणबाट फर्किएपछि मन्त्री खड्काले नेपाल–चीन ऊर्जा सहकार्यसम्बन्धी विभिन्न विषयमा सार्थक छलफल भएको जानकारी दिए। उनले आफ्नो भ्रमणलाई “उपलब्धिमूलक” भन्दै बैठकमा नेपालले ऊर्जा क्षेत्रमा लिएको रणनीति र लक्ष्यबारे सहभागी मुलुकलाई अवगत गराएको बताए।
“ऊर्जा अब केवल व्यापारको विषय होइन, यो दिगो विकास र साझा समृद्धिको आधार हो,” मन्त्री खड्काले भने, “नेपालले ऊर्जा क्षेत्रलाई आगामी दिनमा प्रमुख विकास–चालकका रूपमा अघि बढाउने योजना बनाएको छ।”
झन्डै पाँच दिनसम्म (असार ९–१३) सञ्चालन भएको उक्त बैठकमा आयोजक चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उजबेकिस्तान लगायत नौ सदस्य राष्ट्र, तीन पर्यवेक्षक राष्ट्र र १४ संवाद मुलुकका ऊर्जा मन्त्रीहरूको सहभागिता रहेको थियो।
चीन भ्रमणको क्रममा मन्त्री खड्काले त्यहाँस्थित नेपाली समुदायसँग पनि भेटघाट गरेका थिए। ऊर्जा बैठकमा सहभागी हुन उनी असार ९ गते राति चीन प्रस्थान गरेका थिए।


