Wednesday, September 23, 2026
Homeअन्तराष्ट्रियउबरलाई २३ वर्षीया युवतीको परिवारलाई ४ करोड डलर क्षतिपूर्ति दिन आदेश

उबरलाई २३ वर्षीया युवतीको परिवारलाई ४ करोड डलर क्षतिपूर्ति दिन आदेश

काठमाडौं । अमेरिकी ride-sharing कम्पनी उबरलाई २३ वर्षीया युवतीको परिवारलाई ४ करोड डलर (करिब ६ अर्ब रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिइएको छ। क्यालिफोर्नियाको एक हाइवेमा उबर चालकले युवतीलाई गाडीबाट बाहिर निकालेपछि अर्को गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको घटनामा यस्तो आदेश दिइएको हो।

अदालती कागजातअनुसार एमिली नर्मन्डिन–पार्करले १२ अगस्ट २०२३ मा एक साथीसँग घर फर्किन उबर बुक गरेकी थिइन्। यात्राका क्रममा उनकी साथीले गाडीभित्रै बान्ता गरेपछि चालकले हाइवेमा गाडी रोकेर दुवै महिलालाई बाहिर निकालेको आरोप परिवारले लगाएको छ।

गाडीबाट बाहिर निकालिएपछि हाइवेमा अर्को गाडीले ठक्कर दिँदा एमिलीको मृत्यु भएको थियो।

एमिलीका आमाबुबाले चालक वु ट्रानले उनीहरूलाई सुरक्षित स्थानमा नपुर्‍याई हाइवेमा छाडेको आरोप लगाएका छन्। परिवारका वकिलहरूका अनुसार चालकले महिलाहरूका लागि सहयोग माग्नुको सट्टा उबरलाई फोन गरी गाडी सफा गरेको शुल्क तिर्न माग गरेका थिए।

मुद्दामा उबरले चालक कम्पनीको कर्मचारी नभई स्वतन्त्र ठेकेदार भएकाले उनको कार्यका लागि कम्पनी जिम्मेवार नहुने तर्क गरेको थियो। तर, पाँच दिनसम्म चलेको मध्यस्थतापछि सेवानिवृत्त न्यायाधीश रिचर्ड स्टोनले उबरलाई एमिलीका आमाबुबालाई क्षतिपूर्ति दिन आदेश दिएका हुन्।

न्यायाधीश स्टोनले चालकले यात्रुहरूको सुरक्षाभन्दा आफ्नो नयाँ गाडीको बढी चिन्ता गरेको टिप्पणी गरेका थिए। उनले चालकले हाइवेबाट बाहिर निस्किएर महिलाहरूलाई सुरक्षित स्थानमा छाड्न सक्ने बताएका थिए।

उबरले भने मध्यस्थकर्ताले कम्पनीलाई घटनाका लागि कानुनी रूपमा जिम्मेवार ठहराउनु गलत भएको जनाएको छ। कम्पनीले सुरक्षासम्बन्धी विज्ञहरूको सुझावका आधारमा नयाँ प्रविधि, नीति तथा सुरक्षा उपायहरू निरन्तर सुधार गर्दै आएको बताएको छ। यसअन्तर्गत चालकहरूलाई असुरक्षित स्थानमा यात्रुहरू ओराल्नबाट जोगिन थप जानकारी दिने व्यवस्था पनि रहेको कम्पनीको भनाइ छ।

परिवारका तर्फबाट मुद्दा लडिरहेको कानुनी फर्म ‘प्यानिस, सिया, रविपुडी’ का अनुसार उबरले सुरुमा परिवारलाई १ करोड डलर क्षतिपूर्ति दिने प्रस्ताव गरेको थियो। तर, त्यसका लागि परिवारले घटनाबारे सार्वजनिक रूपमा बोल्न नपाउने सर्त स्वीकार गर्नुपर्ने थियो। परिवारले उक्त प्रस्ताव अस्वीकार गरेको थियो।

एमिली क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस (यूसीएलए) बाट स्नातक गरेकी थिइन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका