काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे) २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
क्रिसमसका अवसरमा जारी शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले शान्ति, प्रेम, करुणा र सहअस्तित्वको सन्देश बोकेको यस पर्वले मानवता, सहिष्णुता र सामाजिक सद्भावलाई थप बलियो बनाओस् भन्ने कामना गरेका छन्।
सन्देशमा उनले संविधानले सुनिश्चित गरेको समानता, धार्मिक स्वतन्त्रता र सामाजिक न्यायका मूल्यसँग क्रिसमसजस्ता पर्वहरू प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेका छन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक भएकाले विविध धर्म, संस्कृति र परम्पराले राष्ट्रिय पहिचानलाई समृद्ध बनाउँदै आएको उनको भनाइ छ।
उपराष्ट्रपति यादवले यस्ता पर्वहरूले ‘विविधतामा एकता’ को सन्देश दिँदै राष्ट्रिय अखण्डता, सामाजिक समानता र सहअस्तित्वलाई मजबुत बनाएको बताएका छन्। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी शासन अभ्यासका लागि सांस्कृतिक आधार प्रदान गर्दै स्थायी शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन्।
क्रिश्चियन धर्मका प्रवर्तक येशु ख्रीष्टको जन्म दिवसका रूपमा हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर क्रिसमस पर्व मनाइन्छ। यस पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले यसले परिवार, समाज र समुदायबीच आपसी सद्भाव र सहयोगको भावना बलियो बनाउने बताएका छन्।
पछिल्ला वर्षहरूमा अन्य धर्मावलम्बीहरूले पनि उत्साहपूर्वक क्रिसमस मनाउन थालेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसले सर्वधर्म सहिष्णुता, पारस्परिक सम्मान र राष्ट्रिय एकतालाई थप जीवन्त बनाएको बताएका छन्। उनले यस अवसरमा सबैले सामाजिक न्याय, समावेशिता र समान अवसर सुदृढ बनाउने संकल्प लिनुपर्नेमा जोड दिएका छन्।
क्रिसमस पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको भावनालाई अझ प्रगाढ बनाउँदै समृद्ध, शान्त र विकसित नेपाल निर्माणमा प्रेरणा प्रदान गरोस् भनी उपराष्ट्रपति यादवले पुनः शुभकामना व्यक्त गरेका छन्।


