काठमाडौं — उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा मनाइने विविध चाडपर्वहरूले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको बताएका छन्।
उधौंली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले पर्वहरूले समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे।
उनले भने, “नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनअधिकारलाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्न यी पर्वहरूले उत्प्रेरणा प्रदान गरून्। ‘साकेला’ नृत्यले प्रकृति र जीवनबीचको गहिरो सम्बन्ध उजागर गर्दै नेपाललाई मौलिक परम्पराले सम्पन्न देशका रूपमा चिनाउने गर्छ।”
यसै अवसरमा उनले ज्यापू दिवसले नेवाः संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानलाई अझ बल दिन भूमिका खेलेको उल्लेख गरे।
उपराष्ट्रपति यादवका अनुसार धिमे बाजाको तालमा प्रस्तुत झाँकीहरूले रैथाने परम्परालाई जीवन्त राख्दै सांस्कृतिक पहिचानलाई थप उजागर गर्छन्।
नेवार समुदायको प्रमुख पर्व यःमरि पुन्हीं (धान्यपूर्णिमा) नयाँ अन्नप्रति कृतज्ञता व्यक्त गर्ने महत्त्वपूर्ण अवसर भएको उनले बताए। यस दिन ‘यःमरि’ देवी–देवता, पूर्वज तथा आफन्तलाई अर्पण गर्ने परम्पराले समर्पण, समृद्धि र सामाजिक एकताको सन्देश बोकेको उनले उल्लेख गरे।
यसै दिनदेखि पूर्वी नेपालमा ‘भक्का’ पकाउने परम्परा सुरु हुने मान्यता पनि नेपाली सांस्कृतिक विविधताको विशेषताको रूपमा उनले व्याख्या गरेका छन्।


