Monday, January 20, 2025
Homeमुख्य समाचारउपप्रधानमन्त्री बन्नासाथ विवादमा

उपप्रधानमन्त्री बन्नासाथ विवादमा

काठमाडौं : उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो पदभार ग्रहण गर्नासाथ विवादमा तानिएका छन्। उपप्रधानमन्त्री महतोले ‘बहुल राष्ट्रिय राज्य’कै पक्षमा अभिव्यक्ति दिएपछि त्यसको विरोध सुरु भएको छ।

प्रमुख सत्तारुढ दल एमालेकै धेरै नेताले महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। माधवकुमार नेपाल पक्षका १५ नेताले संयुक्त वक्तव्य जारी गरी नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरा महतोले पुन: उठाएको भन्दै विरोध जनाएका हुन्।

‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुन: दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’,  वक्तव्यमा लेखिएको छ।

यस्तो अभिव्यक्ति संविधानको धारा ३ को व्यवस्थाविरुद्ध रहेको वक्तव्यमा उल्लेख छ। उक्त धारामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने व्यवस्था छ।

वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसहित भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले महतोको संविधान विरोधी अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पष्ट पारिनुपर्ने माग गरेका छन्। नेपालनिकट जनवर्गीय संगठनले पनि महतोको भनाइको निन्दा गरेका छन्। नेपालनिकट नै विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ।  एमालेकै अर्का नेता वामदेव गौतमदेखि यामलाल कँडेलसम्मले पनि विरोध जनाएका छन्।

महतोले पदभारका क्रममा दिएको अभिव्यक्ति शनिबार पनि दोहोर्‍याएका छन्। महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यही अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताए।  जनता समाजवादी पार्टी (जसपा)ले बबरमहलमा आयोजना गरेको स्वागत कार्यक्रमपछि पत्रकारसँग महतोले बहुल राज्यको विषय दोहोर्‍याएका हुन्।

‘नेपाल विविधताले भरिएको देश हो। नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकाले त्योअनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ’, महतोले भने, ‘विविधताले भरिएको देश एकल हुनै सक्दैन। बहुलता नै हुन्छ। बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन।’

उनले बहुलता सबैको भएकाले त्यसले मात्र राज्य शासनमा प्रतिनिधित्व हुने बताए। पहिचान सबैको हुनुपर्ने भन्दै यो नभए देशमा जनताले अधिकार र पहिचानका लागि आन्दोलन गर्ने उनको भनाइ थियो।

‘राज्य शासनमा सबैको प्रतिनिधित्व हुनुपर्छ। पहिचान हुनुपर्छ। यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छन्’, उनले भने, ‘नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ, बनाउनुपर्छ। बहुलतामा लैजानुपर्छ। यो सबैको देश हो।’ संविधान अपूर्ण भएकाले अधिकार र पहिचानका निम्ति पार्टीले मिसन चलाउने उनको भनाइ थियो।

एमाले नेता गौतमले उपप्रधानमन्त्री महतोले संविधानविपरीत काम गर्ने छैन भन्दै शपथ लिएको आधा घण्टामै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलनको कुरा गरेको भन्दै आपत्ति जनाए। ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनी शपथग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्त दुखी भएको छु’, गौतमले भनेका छन्।

गौतमले संविधानको धारा ३ ले नेपाल अनेकौं विशेषतासहितको राष्ट्र भएको उल्लेख गरेको सम्झना गरेका छन्। संविधानको धारा ४ मा अनेकौं विशेषता सहितको नेपाल राज्य भनेको उल्लेख गर्दै उनले नेपाल एउटा मात्र राज्य भएको प्रष्ट पारेका छन्। ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषतासहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो’,  गौतमले फेसबुकमा लेखेका छन्, ‘राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन।’

उनले महतोले अहिले पनि सञ्चालन गरिरहेको कथित आन्दोलनले नेपाललाई विखण्डन गर्ने दाबी गरेका हुन्। ‘नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन’, उनले लेखेका छन्, ‘राजेन्द्रजीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ।’ उनले यो विषयमा प्रधानमन्त्री ओलीले अनभिज्ञता जनाउँदा आफू चकित परेको जनाएका छन्।  नेपाल पक्षका १८ जनवर्गीय संगठनले महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल माफी माग्न आग्रह गरेका छन्।

‘नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले २१ जेठ २०७८ मा नेपालको संविधानअनुसार शपथ ग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा दिनुभएको संविधान विरोधी अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनीहरूको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेतासमेत रहनुभएका उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने क्रममा बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने जानकारी दिनुभएको छ।’ उक्त अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानविरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ।

महतोले दिएको अभिव्यक्तिको भिडिओ सार्वजनिक भएपछि नेता गोकर्ण विष्टले पनि आपत्ति जनाएका छन्। विष्टले फेसबुकमा महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल रहेको लेखेका छन्। ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ’, विष्टले लेखेका छन्।

महतोले पदभार ग्रहण गर्दा सरकारमा सहभागी हुनुको कारण र पार्टीका एजेन्डा सुनाएका थिए। त्यस क्रममा उनले वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार, पहिचान, सुशासन र समृद्धिको सवालहरू अगाडि बढाउने उल्लेख गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ भनेका थिए।

नेता भट्टराईले पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुल राज्यको बहसको संकेत राम्रो नरहेको बताएका छन्। यसले देशलाई फेरि द्वन्द्वतिर फर्काउने भट्टराईको भनाइ छ। एमाले कर्णाली प्रदेश इन्चार्ज एवं कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले महतोको अभिव्यक्ति संविधान विरोधी भएको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘सरकारको उपप्रधानमन्त्री पदको जिम्मेवारी लिएका राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति संविधान, भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति हो।’ अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका