Thursday, August 13, 2026
Homeराजनीतिउपचारपछि स्वदेश फर्किएका देउवाको आह्वान : राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न...

उपचारपछि स्वदेश फर्किएका देउवाको आह्वान : राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न एकजुट होऔँ

काठमाडौं । झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र देशको समृद्धिका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।

वक्तव्य जारी गर्दै देउवाले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकतालाई मजबुत बनाउने उद्देश्यले सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारेका छन् ।

उनले नयाँ युवा पुस्ताको माग र भावनालाई नेपाली कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै परिवर्तनको यात्रामा अनुभव र नयाँ पुस्ताको उत्साहबीच सन्तुलन आवश्यक रहेको बताएका छन् ।

जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने आफ्नो धारणा पहिलेदेखि नै रहेको स्मरण गराउँदै देउवाले युवा पुस्ता अघि बढ्नुपर्छ भन्दैमा अग्रजहरूको योगदानलाई नकार्न नहुने धारणा राखेका छन् । इतिहासका त्याग र बलिदानलाई भुल्न नहुने भन्दै उनले आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न आफू सधैँ तयार रहेको बताएका छन् ।

सत्तारुढ दल र सरकारको ध्यानाकर्षण गराउँदै देउवाले जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा रहेको र त्यसलाई सम्बोधन गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताएका छन् । राजनीतिक आग्रह वा पूर्वाग्रहका कारण जनताको मतको कदर गर्न नसके लोकतन्त्रमा जनता नै अन्तिम निर्णायक हुने चेतावनीसमेत उनले दिएका छन् ।

कांग्रेसभित्र देखिएको असहमति, असन्तोष र कार्यकर्ताको निराशालाई तत्काल सम्बोधन गरी पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता पनि देउवाले व्यक्त गरेका छन् । माओवादीको सशस्त्र द्वन्द्वदेखि पार्टीभित्रका विभिन्न आन्तरिक विवाद समाधान गरेको आफ्नो अनुभव स्मरण गर्दै उनले सबैलाई मिलाएर अघि बढ्ने विश्वास दिलाएका छन् ।

२००७ सालदेखि भएका राजनीतिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको उल्लेख गर्दै देउवाले वर्तमान संविधानको संरक्षण र आवश्यकताअनुसार संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताएका छन् ।

आफ्नो सार्वजनिक जीवन खुला किताबजस्तै रहेको दाबी गर्दै देउवाले आफूले सधैँ राष्ट्र, लोकतन्त्र, नागरिक र संविधानलाई सर्वोपरी मानेर काम गरेको बताएका छन् । आफू नेता बन्नका लागि मात्र नभई राष्ट्रको आजीवन नागरिकका रूपमा सेवा गर्न राजनीतिमा फर्किएको उनको भनाइ छ ।

देउवाले विगतका विभाजन र विद्वेषका घाउ बिर्सेर प्रतिशोधको बाटो त्याग्दै मेलमिलापको मार्ग रोज्न सबै राजनीतिक दल तथा आम नागरिकलाई आह्वान गरेका छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका