Wednesday, May 27, 2026
Homeसूचना प्रविधिउपग्रहका बारेमा बुझ्न नेपाली युवा वैज्ञानिकले बनाए ‘सस्तो क्युव’

उपग्रहका बारेमा बुझ्न नेपाली युवा वैज्ञानिकले बनाए ‘सस्तो क्युव’

 विद्यार्थीलाई उपग्रहका बारेमा बुझाउने मुख्य उद्देश्यसहित चार युवा वैज्ञानिकले ‘सस्तो क्युव’ नामक शैक्षिक उपग्रह किट तयार पारेका छन् । ६ महिनाको अवधिमा निर्माण भएको यो किट युवा वैज्ञानिकहरु विकल्प ढुङ्गाना, जनार्दन सिलवाल, देवराज पन्त र सागर कोइरालाले तयार पारेका हुन् ।

उक्त किटमा ९ वटा बोर्ड, चार ठाउँमा सोलार प्यानल जडान गरिएको युवा वैज्ञानिक ढुङ्गाना बताउँछन् । उनका अनुसार यसमा चार किसिमका सेन्सर जडान गरिएका छन् । ती सेन्सरले करेन्ट, तापक्रम, आर्द्रता र जीपीएसको बारेमा जानकारी दिने जनाइएको छ ।

‘एउटा स्याटेलाइटमा हुनुपर्ने सबै कुरामा यसमा छ, कुन ठाउँमा के कुरा कलेक्ट गर्नुपर्ने हो भन्ने सबै गर्न सक्छ,’ उनले भने, ‘यसको क्षमता दूरी दुई सय मिटर छ ।’

यो किट निर्माणका लागि ७५ हजार रुपैयाँ खर्च भएको छ । खर्चका लागि युनेस्को नेपालले सहयोग गरेको हो । अन्तरिक्ष प्रतिष्ठान नेपालको सहयोगमा आविष्कार केन्द्रमा यसको आविष्कार गरिएको हो ।

स्याटेलाइटले कसरी काम गर्छ भन्ने बुझाउनु नै यसको मुख्य उद्देश्य रहेको ढुङ्गाना बताउँछन् । हाल दश वटा किट बनाइएको र यसलाई नेपाली बजारमा लैजाने सोच रहेको उनले जानकारी दिए ।

उक्त किट तयार भएपछि खोटाङको एक विद्यालयमा पुगेर यसबारे विद्यार्थीलाई बुझाउने प्रयास समेत गरिएको छ । सस्तो क्युवलाई ‘कक्षा कक्षामा स्याटेलाइट’ नारा दिइएको छ ।

यो किट बनाउने सोच नेपाली वैज्ञानिक डा. आभाष मास्केको हो । मास्केले नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याट–१’ निर्माण गरेका थिए । उक्त भूउपग्र दुई वर्ष अगाडि पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।

सस्तोक्युव एउटा यस्तो प्लेटफर्म हो, जसले सिकारु वा उत्साही व्यक्तिका लागि अन्तरिक्ष र उपग्रहका बारेमा जानकारी दिन सक्छ । यसले परम्परागत उपग्रहमा पाइने प्रमुख उपप्रणालीको कार्यक्षमताको नक्कल गर्ने हुनाले मानिसले सहजै यसबाट अन्तरिक्ष र उपग्रहबारे बुझ्न सक्ने जनाइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका