Saturday, May 9, 2026
Homeसामाचारउद्योग वाणिज्य महासंघमा नेतृत्व प्रतिस्पर्धा चर्कियो, वरिष्ठ उपाध्यक्ष पदमा दुई पक्ष आमनेसामने

उद्योग वाणिज्य महासंघमा नेतृत्व प्रतिस्पर्धा चर्कियो, वरिष्ठ उपाध्यक्ष पदमा दुई पक्ष आमनेसामने

काठमाडौँ । मुलुकमा आम निर्वाचनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) भित्र भने आफ्नै नेतृत्व चयनको चुनावी माहोल तातेको छ।

आगामी चैत २८ र २९ गते हुने ६०औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने भएपछि उद्योगी–व्यवसायीहरू प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने निश्चित छ। त्यसैले भावी नेतृत्वको लाइन मानिने वरिष्ठ उपाध्यक्ष पदमा तीव्र प्रतिस्पर्धा देखिएको छ।

हेमराज ढकालको प्यानल सार्वजनिक

महासंघका वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष पदमा प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी करिब दुई वर्षअघिदेखि तयारीमा रहेको बताइन्छ।

उनको उम्मेदवारी घोषणा कार्यक्रममा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पूर्वअध्यक्षहरू पशुपति मुरारका, प्रदीपकुमार श्रेष्ठ, चण्डीराज ढकाल र रविभक्त श्रेष्ठको उपस्थिति रहेको थियो। महासंघ राजनीतिमा प्रभावशाली मानिने पूर्वअध्यक्ष चण्डीराज ढकाल हेमराजका सहोदर दाजु हुन्।

ढकालको प्यानलमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र उमेश डाल्मिया तथा प्रस्तावित महिला उपाध्यक्षमा कमला श्रेष्ठलाई उम्मेदवार बनाइएको छ।

रामचन्द्र संघाई समूहको तयारी

तीन वर्षअघि वरिष्ठ उपाध्यक्षमा अञ्जान श्रेष्ठसँग पराजित भएका रामचन्द्र संघाई यसपटक पुनः सोही पदमा उम्मेदवारी दिने तयारीमा छन्। संघाई समूहले आफ्नो टिम लगभग तय गरिसकेको जनाएको छ।

संघाईको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई वा सुरकृष्ण वैद्यमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ। एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे तथा जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उम्मेदवार बन्ने तयारीमा छन्।

संघाईलाई पूर्वअध्यक्ष भवानी राणा निकट मानिने प्रबलजंग पाण्डेको साथ लाभदायी हुने विश्लेषण गरिएको छ।

उपाध्यक्ष सुरकृष्ण वैद्यले पनि वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। उनले टिमलाई औपचारिक रूपमा चैत ६ गते सार्वजनिक गर्ने जानकारी दिएका छन्।

विधान संशोधनपछि नेतृत्व चयनमा परिवर्तन

महासंघको आगामी कार्यकालपछि अध्यक्ष चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने व्यवस्था गरिएको छ। वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको पहलमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाइएको हो।

यद्यपि, यो व्यवस्था वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ स्वतः अध्यक्ष भइसकेपछिको कार्यकालबाट मात्र लागू हुनेछ। संशोधित विधानअनुसार अब महासंघमा दुई जना वरिष्ठ उपाध्यक्ष रहनेछन् र महिला उपाध्यक्षको संख्या पनि एक जना थप गरिएको छ।

अहिले दुवै समूह जिल्ला दौडाहा र लबिङमा सक्रिय छन्। चैत ६ गते दुवै पक्षले औपचारिक रूपमा टिम घोषणा गर्ने तयारी गरेका छन्। महासंघभित्र प्यानलगत अभ्यास र चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका