काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक पहल गरिएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली परेको समाचारले आफूलाई दुःखी तुल्याएको जनाउँदै, उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल छलफल भएको उल्लेख गरेका हुन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको थियो। बाढी–पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै, पीडामा रहेका परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु।”




