Sunday, November 8, 2026
Homeसामाचारउच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह

उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह

काठमाडौं । सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गरेको छलफलमा मुलुकलाई नयाँ ढंगबाट अघि बढाउन निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। उनीहरूले विद्यमान अवस्थाबाट उद्योग व्यवसायलाई अघि बढाउन आवश्यक सहयोग गर्ने मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे।

सचिवद्वयले आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी खाद्यान्नलगायत आवश्यक सामग्री पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने जानकारी दिए। साथै, माग, आपूर्ति र बजारमा प्रतिकूल असर पार्नेगरी वस्तु सञ्चित नगर्न उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, बिक्रेता लगायत सरोकारवालालाई अनुरोध गरे।

मन्त्रालयले आपूर्ति व्यवस्थामा ठूलो असर नपर्ने भएकाले सर्वसाधारणलाई पनि वस्तु अनावश्यक रूपमा सञ्चित नगर्न आग्रह गरेको छ। परिस्थिति सामान्य बन्दै गएकाले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न आह्वान गरिएको छ।

मन्त्रालयले आयात सहज बनाउन कोरला नाका सञ्चालनमा ल्याइएको र त्यहाँबाट ठूलो मात्रामा सामान भित्रिरहेको जानकारी दिँदै तातोपानी नाका खुलाउन प्रयास भइरहेको जनायो। साथै, दक्षिणतर्फका नाकाहरू पनि नियमित सञ्चालनमा आइसकेको जानकारी गराइयो।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुक विषम परिस्थितिमा परेको अवस्थामा अर्थतन्त्रलाई उकास्न सहकार्य र समन्वय अपरिहार्य रहेको बताए। उनले उत्पादनमूलक उद्योग, होटेल, रिटेल चेन तथा साना व्यवसायमा भएको आगजनी, लुटपाट र तोडफोडले निजी क्षेत्र निराश भए पनि नयाँ हौसलासहित अघि बढ्ने प्रयास भइरहेको बताए। सरकारसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले निजी क्षेत्रलाई आत्मविश्वास दिलाउनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका