काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ई–बिडिङ प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतले विक्रम पाण्डेसँग ४ लाख रुपैयाँ धरौटी माग गरेको छ । यस्तै, प्रकाश ढुंगाना र सञ्जय भट्टसँग जनही १० लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।
त्यस्तै जीवनकुमार दाससँग ५ लाख रुपैयाँ, अमृत बोहरासँग ४ लाख रुपैयाँ, सागर कटुवालसँग ५ लाख रुपैयाँ, अनिल श्रेष्ठसँग ४ लाख रुपैयाँ तथा भाष्करराज अर्यालसँग १० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
मुद्दामा सरकारी कर्मचारी नासु दिवाकर देउजालाई भने पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ ।
यस प्रकरणमा सरोज दाहाल, शान्तकुमार श्रेष्ठ, कृष्णबहादुर खत्री, निरञ्जन खनाल, इन्द्रबहादुर बोहोरा, ज्योति सुवेदी, सुजन अधिकारी, भरत धामी, राहुल जंग कार्की र नारायणप्रसाद सिटिखुलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरू हाल फरार रहेका छन् ।
सिआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले गत वैशाख २५ गते २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये १० जना अझै फरार छन् ।
सरकारी वकिल कार्यालयले पूर्वमन्त्री पाण्डेलगायतलाई सङ्गठित अपराधसम्बन्धी कसुरबाट उन्मुक्ति दिएको आरोपसमेत लागेको छ ।


