Friday, May 8, 2026
Homeअन्तराष्ट्रियइरानले हर्मुज जलडमरूमार्ग हुँदै भारतीय जहाजलाई आवतजावत अनुमति दियो, नेपाललाई पनि राहत

इरानले हर्मुज जलडमरूमार्ग हुँदै भारतीय जहाजलाई आवतजावत अनुमति दियो, नेपाललाई पनि राहत

काठमाडौं । अमेरिका, इजरायल र इरानबीच १३ दिनसम्म चलेको तनावपूर्ण युद्धबीच पनि इरानले भारतीय जहाजहरूलाई हर्मुजको जलडमरूमार्ग हुँदै आवतजावत गर्न अनुमति दिएको बताइएको छ।

समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै इरानी सरकारले भारतीय जहाजहरूको आवतजावतमा अवरोध नगर्ने संकेत दिएको जनाएको छ। भारतीय आपूर्ति श्रृंखला निरन्तर राख्ने उद्देश्यले दिइएको यो अनुमतिले नेपाललाई पनि अप्रत्यक्ष रूपमा फाइदा पुग्ने देखिएको छ, किनकि नेपालले ग्यास र पेट्रोलियम पदार्थ मुख्यतः भारतबाटै आयात गर्छ।

यद्यपि अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले इरानी स्रोतलाई उद्धृत गर्दै भारतीय जहाजलाई विशेष छुट दिएको भन्ने दाबी पुष्टि नभएको जनाएको छ।

प्रतिवेदनहरूका अनुसार अमेरिका र इजरायलसँग प्रत्यक्ष सम्बन्ध नरहेका जहाजहरूलाई हर्मुज जलडमरूमार्ग प्रयोग गर्न अनुमति दिइने सम्भावना रहेको बताइएको छ। यसअघि इरानले उक्त मार्ग हुँदै आवतजावत गर्ने जहाजहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो।

यसैबीच इरानले बुधबार राति फारसी खाडी क्षेत्रमा “सेफासी विष्णु” नामक अमेरिकी तेल ट्याङ्करमा आक्रमण गरेको बताइएको छ। उक्त आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको खबर छ, तर मृतकको पहिचान सार्वजनिक गरिएको छैन।

समाचार एजेन्सी पीटीआईका अनुसार आक्रमणमा आत्मघाती डुङ्गा प्रयोग गरिएको थियो। मार्शल टापुको झण्डामुनि सञ्चालन भइरहेको जहाजमा सवार बाँकी २७ जनालाई भने सकुशल उद्धार गरिएको बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका