Tuesday, September 15, 2026
Homeअन्तराष्ट्रियइरानमाथि आक्रमण रोक्ने ट्रम्पको निर्णयको रहस्य: २४ घण्टामै किन फेरियो रणनीति?

इरानमाथि आक्रमण रोक्ने ट्रम्पको निर्णयको रहस्य: २४ घण्टामै किन फेरियो रणनीति?

काठमाडौं । इरानमाथि अमेरिकी सेनाले लगातार १३ दिनसम्म हवाई आक्रमण गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ठूलो सैन्य कारबाही गर्ने संकेत दिएका थिए। तर, १४औँ दिनको आक्रमणका लागि सबै तयारी पूरा भइसकेको अवस्थामा उनले अन्तिम क्षणमा हमला रोक्ने निर्णय लिए। यो निर्णय किन बदलियो भन्ने विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सियोस ले नयाँ विवरण सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार, अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का कमाण्डर एड्मिरल ब्राड कूपरले राष्ट्रपति ट्रम्प, पेन्टागन र ह्वाइट हाउसलाई दिएको गोप्य ब्रिफिङमा होर्मुज जलडमरूमध्य आसपासको बमबारी रोक्न सिफारिस गरेका थिए।

कूपरका अनुसार दुई सातासम्म जारी आक्रमणले इरानको समुद्री तथा सैन्य क्षमता उल्लेखनीय रूपमा कमजोर बनाइसकेको थियो। अधिकांश रणनीतिक सैन्य लक्ष्यहरू नष्ट भइसकेका थिए र बाँकी रहेका लक्ष्यहरूमा आक्रमण गर्न सीमित कारबाही पर्याप्त नहुने, त्यसका लागि पूर्ण युद्धकै स्तरको अभियान आवश्यक पर्ने निष्कर्ष उनले प्रस्तुत गरेका थिए।

यही मूल्यांकन ट्रम्पले तत्कालका लागि थप आक्रमण रोक्ने निर्णय लिनुको मुख्य कारण बनेको बताइएको छ।

यससँगै अमेरिकी संयुक्त सैन्य प्रमुख (Joint Chiefs of Staff) का अध्यक्ष जनरल ड्यान केनले पनि राष्ट्रपति ट्रम्प र रक्षामन्त्री पिट हेगसेथलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार घट्दै गएको भन्दै गम्भीर सुरक्षा जोखिमबारे सचेत गराएका थिए। उनका अनुसार यस्तो अवस्थामा थप सैन्य अभियानले मध्यपूर्वमा रहेका अमेरिकी सेना र सहयोगी राष्ट्रहरूको सुरक्षामा असर पार्न सक्थ्यो।

उता, ओमानको मध्यस्थतामा इरानसँग होर्मुज जलडमरूमध्य सुरक्षित रूपमा सञ्चालन गर्ने विषयमा कूटनीतिक वार्ता पनि अघि बढिरहेको छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले एनबीसीसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सबै सैन्य विकल्प खुला राखे पनि कूटनीतिक प्रयासलाई अवसर दिन आक्रमण स्थगित गरिएको बताएका छन्।

हाल दुवै पक्षले सैन्य कारबाही रोकेका कारण क्षेत्रीय तनाव केही मत्थर भएको छ। यद्यपि, ओमानको पहलमा हुने सम्भावित सम्झौताको नतिजा र त्यसप्रति ट्रम्प प्रशासनको धारणा नै मध्यपूर्वको आगामी सुरक्षा अवस्था र शान्ति प्रक्रियाको प्रमुख निर्धारक बन्ने विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका