काठमाडौं । इरानले गुगल र एप्पलसहित १८ प्रमुख अमेरिकी कम्पनीका क्षेत्रीय कार्यालयमा आक्रमण गर्ने धम्की दिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (IRGC) ले ती कम्पनीहरू इरानविरुद्ध शत्रुतापूर्ण गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै लक्षित गरिने चेतावनी दिएको हो।
इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार ती कम्पनीहरूले जासुसीमार्फत इरानभित्र अमेरिका–इजरायलसँग सम्बन्धित गतिविधिमा सहयोग गरेको आरोप लगाइएको छ।
IRGC ले अप्रिल १ मा इरानी समयअनुसार राति ८ बजेदेखि प्रतिशोधात्मक आक्रमण सुरु हुन सक्ने उल्लेख गर्दै ती हमलाहरू “विनाशकारी” हुने चेतावनी दिएको छ।
धम्की दिइएका कम्पनीहरूको सूचीमा एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता प्रविधि कम्पनीहरू रहेका छन्। साथै एचपी, इन्टेल, आइबीएम र सिस्कोजस्ता हार्डवेयर तथा पूर्वाधार प्रदायकहरू पनि सूचीमा छन्।
त्यस्तै, टेस्ला, एनभिडिया, ओरेकल, जेपी मोर्गन र बोइङ जस्ता अन्य प्रमुख बहुराष्ट्रिय कम्पनीहरूलाई पनि लक्षित गरिएको बताइएको छ।


