२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण यो तहमा बढ्ला भनेर आफूले आँकलन नगरेको स्वीकार गरेका छन् ।
नेपालमा कोरोना महामारी भित्रिएको बेला गत वर्ष प्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोधी क्षमता असाधारण रहेको दाबी गरेका थिए । एक वर्षपछि प्रधानमन्त्री ओलीले आफ्नो बुझाइ गलत भएको स्वीकार गरेका छन् ।
शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ । त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन ।’
यद्यपि इम्युन सिस्टमको काम छैन भन्ने नभएको उनले बताए । ‘जति मान्छे रिभाइभ भएका छन्, त्यसमा पनि अवश्य पनि इम्युन सिस्टमको भूमिका हुन्छ,’ उनले भनेका छन् ।