Sunday, November 8, 2026
Homeसामाचारइमादार नेता र अनुशासित नागरिकको पहलबाट देश विकास हुन्छ : मन्त्री गुरुङ

इमादार नेता र अनुशासित नागरिकको पहलबाट देश विकास हुन्छ : मन्त्री गुरुङ

काठमाडौँ – संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इमानदार नेतृत्व र अनुशासित नागरिकको पहलमार्फत मात्र देश विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले सुशासन र समृद्धिका लागि इमान्दार प्रयास अपरिहार्य रहेको बताउनुभयो।

उहाँले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेको उल्लेख गर्दै ती युवालाई स्वदेशमै फर्काउन इक्यानले पहल गर्नुपर्ने सुझाव दिनुभयो।

“विदेशमा अध्ययन गर्नु सकारात्मक कुरा हो तर इक्यानले उनीहरूलाई स्वदेशमै भविष्य देखाउनुपर्नेछ,” मन्त्री गुरुङले भन्नुभयो, “विदेशमा उच्च शिक्षा लिएर फर्केका युवालाई स्वदेशमै नवीन कार्यमा संलग्न गराउन प्रोत्साहन गर्नुपर्छ।”

नेपालमा विकासका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले देशलाई शैक्षिक हब बनाउन आवश्यक आधार तयार गर्न इक्यानलाई सुझाव दिनुभयो। यसका लागि शिक्षा नीति, ऐन र कानुनलाई समयअनुसार परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सोही अवसरमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले स्वदेशमै युवाको उत्साह टिकाइ राख्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभयो।

कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली विद्यार्थीले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता र नवीन कार्यमा प्रतिष्ठा हासिल गर्न थालेको इक्यानको सफलता भएको बताउँदै, यसलाई सरकारले पनि सकारात्मक रूपमा लिनुपर्ने आग्रह गर्नुभयो।

उहाँले इक्यानको भावी उद्देश्य विश्वस्तरमा गुणस्तरीय शिक्षा प्राप्त गरेका युवालाई फर्काएर स्वदेशमै सेवा गर्ने भावनाको विकास गर्नेतर्फ केन्द्रित हुने स्पष्ट पार्नुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका