Sunday, November 8, 2026
Homeसामाचारइजरायल–इरान तनावबीच नेपालीको सुरक्षाका लागि सबै उपाय अपनाइने: परराष्ट्रमन्त्री राणा

इजरायल–इरान तनावबीच नेपालीको सुरक्षाका लागि सबै उपाय अपनाइने: परराष्ट्रमन्त्री राणा

काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा उत्पन्न परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने र स्वदेश फर्कन चाहनेलाई उद्दार गरी नेपाल फर्काउने तयारीमा रहेको स्पष्ट पारेकी छन्।

शुक्रवार परराष्ट्र मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, र गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग भएको संयुक्त बैठकमा मन्त्री डा. राणाले इजरायल–इरानबीच जारी तनावले सिर्जना गरेको संकट व्यवस्थापनको तयारीबारे जानकारी दिँदै उक्त कुरा बताएकी हुन्।

उनका अनुसार परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावास सक्रिय रुपमा कार्यरत रहेको छ भने स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण संकलनका लागि रजिस्ट्रेसन खुला गरिएको छ। “स्वदेश फर्कन चाहने नेपालीलाई आवश्यक उद्धारको प्रबन्ध गर्न सरकार तयारी अवस्थामा छ,” मन्त्री राणाले बताइन्।

उनले थप भनिन्, “जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहन्छन् भने त्यसका लागि सहजीकरण गर्नु इजरायल सरकारको पनि जिम्मेवारी हो। सीमाक्षेत्र हुँदै अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ।”

बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रालयले इजरायलमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको र स्वदेश फर्कन चाहनेको उद्धारका लागि सरकार सक्रिय रहनुपर्ने बताएका छन्। साथै, हाल इजरायल जान अन्तिम तयारीमा रहेका व्यक्तिलाई श्रम स्वीकृति रोकिने निर्णय पनि गरिएको छ।

युद्ध सुरु भएको दिन अर्थात् जुन १३ मा नै परराष्ट्र मन्त्रालयले इजरायल र इरानलाई संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न अपिल गरेको थियो। त्यसपछि जुन १५ मा ट्राभल एड्भाइजरी जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सतर्क रहन र सम्बन्धित नेपाली दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरिएको थियो।

युद्धको जोखिमलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई ‘अनलाइन भिसा’ उपलब्ध गराउन खाडी क्षेत्रका सबै नेपाली नियोगलाई आवश्यक समन्वय गर्न बुधबार निर्देशन दिएको छ।

साथै, मन्त्रालयले अनलाइन पोर्टलमार्फत नेपालीहरूको विवरण संकलन गरिरहेको छ, जसमा हालसम्म ६०० भन्दा बढी व्यक्तिले विवरण दर्ता गराइसकेका छन्। सो प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।

बुधबार दोस्रोपटक जारी गरिएको ट्राभल एड्भाइजरीमा इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन तथा नेपालबाट इजरायल वा मध्यपूर्वतर्फको भ्रमण हाल नगर्न आग्रह गरिएको छ।

यसै साता नेपालका लागि इजरायलका राजदूत स्मुलिक आरी बाससँग भेट गर्दै परराष्ट्रमन्त्री डा. राणाले नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न इजरायल सरकारलाई अनुरोध गरेकी थिइन्।

त्यसैगरी, इजरायलस्थित नेपाली दूतावास र इरान हेर्ने कतारस्थित दूतावासलाई सम्बन्धित अधिकारी, संस्थाहरू तथा नेपाली समुदायसँग घनिष्ठ समन्वय गर्न तथा अवस्था अनुसार ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ।

हाल इजरायलमा अनुमानित ५,५०० देखि ७,००० नेपाली रहेका छन्, जसमा अधिकांश तेल अविभ, जेरुसेलम र हाइफामा बसोबास गर्छन्। इरानमा भने हाल १८ जना नेपाली रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका