Sunday, November 8, 2026
Homeसामाचारआन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ

काठमाडौँ। भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन सुरु गरेपछि २० वर्षीया लिजा अधिकारी आन्दोलनमा सहभागी हुन बालकुमारीस्थित घरबाट निस्किईन्। सामाजिक सञ्जालमा भीड जम्मा हुँदै गरेको भिडियो देखेर उनी पनि आन्दोलनमा जान उकुसमुकुस भइन् र आमालाई अफिस जानु परेको बहाना देखाउँदै सडकमा पुगेकी थिइन्।

आन्दोलन सुरु भएको केही समयमै नयाँबानेश्वरमा भीडमाथि आक्रमण हुँदा लिजा घाइते भइन्। भ्रष्टाचारविरुद्धको आन्दोलनमा आवाज बुलन्द गरिरहेको बेला पछाडिबाट प्रहार गरिएको गोलीले उनको बाँया कुममा चोट पुर्‍यायो।

“हामी शान्तिपूर्ण रुपमा भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका थियौँ। हाम्रो जुलुसमा आक्रमण भएपछि भीड आक्रोशित भयो,” ट्रमा सेन्टरमा उपचाररत लिजाले भनिन्। उनले बताइन् कि माइकबाट प्रदर्शनकारीलाई ढुङ्गामुढा नगर्न र प्रहरीलाई गोली नहाने आग्रह गरिरहँदा पनि कसैले सुनेन।

लिजाका अनुसार जुलुस माइतीघरबाट नयाँबानेश्वरस्थित संसद भवनतर्फ शान्तिपूर्ण थियो। हतियार वा विशेष माग नभएका यी युवा केवल भ्रष्टाचारविरुद्ध आफ्नो आवाज सरकारसम्म पुर्‍याउन चाहन्थे। तर जब प्रहरी हस्तक्षेप सुरु भयो, भीड तितरवितर भयो।

“मेरो आँखाअगाडि एक जनाको टाउकोमा चोट लाग्यो र अर्काको हातमा गोली लाग्दा हामी आक्रोशित भयौं। हामीले उनीहरुलाई अस्पताल पठायौँ, तर प्रहरीबाट अश्रुग्यास प्रहार भयो,” उनले भनिन्।

लिजाले आन्दोलनमा जानुअघि आमालाई भनेकी थिइन्, “म पनि जान्छु।” तर आमाले अफिस जानुपर्ने बहाना बनाउँदै अनुमति दिइन्। प्लास्टिकको गोली चलेको खबर पाएपछि फोनमा आमालाई आफू सुरक्षित छ भनी जानकारी दिँदै उनीमाथि गोली लाग्यो।

नयाँबानेश्वरमा केही हवाई फायर भइसकेको र दुई जना आन्दोलनकारीको मृत्यु भइसकेको थियो। लिजाले भनिन्, “हाम्रो उद्देश्य तोडफोड वा ढुङ्गामुढा गर्नु थिएन, हामी शान्तिपूर्ण धर्नामा बस्ने योजना बनाएका थियौँ। गोली चल्ने अनुमान थिएन।”

गोली लाग्दा आसपासका मानिस तितरवितर भएका थिए। दायाँ हातले आफूलाई सम्हाल्दै लिजा संसद भवन अगाडि उभिईन्। केही समयपछि सहयोगीले झण्डाले बाँधिदिए र अर्काले बाइकमार्फत एभरेष्ट अस्पताल पुर्‍याए।

एभरेष्ट अस्पतालमा प्राथमिक उपचारपछि चिकित्सकले शल्यक्रिया आवश्यक भएकाले ट्रमा सेन्टर रेफर गरे। अस्पतालमा धेरै घाइते आउँदा पनि व्यवस्थापन राम्रो भएको लिजाले धन्यवाद दिइन्।

त्यो दिन अस्पतालमा १८१ जना घाइते ल्याइएका थिए। शय्या अभावले भुइँमै म्याट राखेर उपचार गर्नु परेको थियो। लिजाले भनिन्, “घाउ दुख्दा बाँचिन्छ कि मरिन्छ भन्ने अनिश्चितता थियो। कुमको हड्डी पूरै टुक्रिएको छ र चिकित्सकले तारले बाँधिदिएका छन्।”

अहिले लिजालाई हल्का पनि चल्दा दुखाइ हुन्छ। चिकित्सकले पहिलो शल्यक्रिया निको भएपछि दोस्रो गर्नुपर्ने बताएका छन्। पेनकिलरको सहयोगले उनी अहिले दुखाइ कम गरिरहेकी छन्।

लिजा ट्रमा सेन्टरबाटै नवगठित सरकारलाई आन्दोलनका दोषीमाथि कारबाही गर्न दबाब दिइरहेकी छिन्। प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र जेनजी प्रतिनिधिहरू घाइते भेट्न अस्पताल आइरहेका छन्।

“हामीले सडकमा आउन बाध्य बनाएको चरम भ्रष्टाचार र अपारदर्शीताले हो। निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही नभएसम्म हाम्रो बलिदानको न्याय हुँदैन,” लिजाले भनिन्।

लिजाले भ्रष्टाचारसँग जोडिएका मुद्दाका फाइल खोलेर अनुसन्धान थालनी गर्न र क्षमतावान् व्यक्तिलाई सरकारमा लैजानुपर्ने माग राखेकी छन्। उनी मोरङ रतुवामाई स्थायी घर भएकी हुन् र बालकुमारीमा आमा र भाइसँग बस्छिन्। जेठो सन्तान भएकी लिजाले परिवारको जिम्मेवारी, भाइको उच्च शिक्षा र आमाको स्वास्थ्य हेरचाह पनि सँभाल्नु पर्छ।

कुसुम कलेजमा बीबीए सातौँ सेमेस्टरमा अध्ययनरत लिजा आन्दोलन हुने दिनभन्दा चार दिनअघि जेनजी समूहमा सामेल भएकी थिइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका