Tuesday, May 20, 2025
Homeराजनीतिआज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौँ: आज देशभर १९औँ लोकतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। लोकतान्त्रिक आन्दोलनमा सहादत दिने वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रजातन्त्रप्रति सम्मान प्रकट गरिँदैछ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा संसद् पुनःस्थापनाको घोषणा गरिएको दिनको सम्झनामा यो दिवस मनाइने गरिएको हो। राजा शाहले विसं २०५९ जेठ ८ मा विघटन गरेको संसद् जनआन्दोलनको दबाबमा पुनःस्थापित गरेका थिए। सोही दिन राजा शाहले आफू कार्यकारी भूमिकाबाट अलग भएको घोषणा गर्दै राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको उल्लेख गरेका थिए।

उनको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता तथा राजकीय सत्ता नेपाली जनतामै निहित रहेको तथ्यलाई आत्मसात गर्दै जनआन्दोलनमार्फत अभिव्यक्त जनभावनाअनुरूप प्रतिनिधिसभा पुनःस्थापित गरिएको छ।”

सात प्रमुख राजनीतिक दलहरू र तत्कालीन सशस्त्र विद्रोही नेकपा (माओवादी)को संयुक्त सहभागितामा भएको ऐतिहासिक जनआन्दोलनले निरङ्कुश शासनको अन्त्य गर्दै लोकतन्त्र पुनःस्थापित गराएको थियो। त्यसको फलस्वरूप विसं २०६३ वैशाख १५ गते पुनःस्थापित प्रतिनिधिसभाको बैठक बसेको थियो।

यस लोकतान्त्रिक आन्दोलनपछि नेपालले दुईवटा संविधानसभाको निर्वाचनमार्फत नयाँ संविधान जारी गर्‍यो। विसं २०७२ असोज ३ गते लागू भएको संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरायो। त्यसपछि मुलुकले सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचनसमेत सम्पन्न गरेको छ।

संघीय व्यवस्थाले राज्यसेवाहरू जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्‍याउने तथा विपद्का बेला तत्काल राहत तथा सहयोग पुर्‍याउनेतर्फ सकारात्मक भूमिका खेलिरहेको छ। संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले सेवा प्रवाहमा प्रभावकारी नतिजा दिन थालेको देखिएको छ।

यसै अवसरमा, लोकतन्त्र दिवसका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्दै मुलुकको समृद्धिका लागि सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्। लोकतन्त्रभन्दा राम्रो शासन प्रणाली नभएको स्पष्ट पार्दै, सबै राजनीतिक शक्तिले लोकतन्त्रको संरक्षण र समृद्धि निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ।

तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा विसं २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका