Wednesday, August 12, 2026
Homeराजनीतिआज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका सात वटा संसदीय समितिको बैठक आज बस्दैछ। बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका तथा आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुने कार्यसूची छ।

त्यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस गरी छलफल गरिनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह तथा वृद्धाश्रमको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षमाथि छलफल हुने कार्यसूची छ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ।

सार्वजनिक लेखा समितिको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न उजुरीमाथि छलफल गरिनेछ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौताको कार्यान्वयन अवस्था र आगामी जलवायु परिवर्तन सम्मेलन कोप–३१ का लागि नेपालको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ।

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा समसामयिक विषय तथा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका