Tuesday, May 20, 2025
Homeसामाचारआज विश्व सम्पदा दिवस, सम्पदा पदयात्रासहित विविध कार्यक्रम हुँदै

आज विश्व सम्पदा दिवस, सम्पदा पदयात्रासहित विविध कार्यक्रम हुँदै

काठमाडौँ: सम्पदाको संरक्षण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज (अप्रिल १८) विश्व सम्पदा दिवस नेपालमा विविध कार्यक्रमका साथ मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत विश्व सम्पदा क्षेत्रको संरक्षणप्रति ध्यानाकर्षण गराउने उद्देश्यले सन् १९८३ देखि हरेक वर्ष यो दिवस मनाउँदै आइएको हो।

हाल नेपालका काठमाडौँ उपत्यकाका वसन्तपुर, पाटन, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छन्।

सम्पदा पदयात्रा हुँदै

विश्व सम्पदा दिवसको अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा आयोजना गरिएको छ। पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका अन्तर्गतको हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको संयुक्त आयोजनामा पदयात्रा गरिँदैछ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार पदयात्रा स्वयम्भूको भुइँखेलबाट सुरु भई हनुमानढोका दरबार क्षेत्रमा पुगेर समापन हुनेछ। पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संस्कृतिकर्मीहरू तथा विभिन्न सांस्कृतिक संस्थाको सहभागिता रहनेछ।

सम्पदा प्रभाव मूल्याङ्कनको अभ्यास सुरु

सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा त्यसले सम्पदामा पार्ने प्रभावको मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ। अघिसम्म ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य थियो भने अब सम्पदास्थल नजिकै पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कन पनि गर्नुपर्नेछ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार दुई वर्षअघि सम्पदा प्रभाव मूल्याङ्कन सम्बन्धी कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको हो। विभागका अनुसार सरकारले गत वर्ष पहिलो पटक सम्पदा प्रभाव मूल्याङ्कनका लागि सरकारीस्तरको तालिम सञ्चालन गरेको थियो, जसबाट प्रशिक्षित जनशक्तिले मूल्याङ्कन कार्य सुरु गरिसकेका छन्।

विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा पनि यस विषयलाई समेटेर संशोधन प्रक्रिया अघि बढाएको छ। तर ऐन संशोधनमा समय लाग्ने भएकाले मन्त्रालयस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरी तत्काल कार्यान्वयन सुरु गरिएको हो। कार्यविधिअनुसार अब सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कन प्रतिवेदन अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका