काठमाडौं । आज जुलाई २९ का अवसरमा नेपालसहित विश्वभर विश्व बाघ दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवसका रूपमा मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो।
बाघको संरक्षण, प्राकृतिक बासस्थानको सुरक्षा, बाघको घट्दो सङ्ख्याप्रति जनचेतना अभिवृद्धि तथा संरक्षणसम्बन्धी प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ।
यस अवसरमा बाघ संरक्षणका चुनौती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान संरक्षण तथा जैविक विविधता जोगाउने विषयमा विभिन्न कार्यक्रम, छलफल र जनचेतनामूलक अभियान सञ्चालन गरिँदै छन्। नेपालमा पनि सरकारी तथा गैरसरकारी निकायहरूले बाघ संरक्षणसम्बन्धी विविध कार्यक्रम आयोजना गरी विश्व बाघ दिवस मनाउँदै छन्।


