काठमाडौं, १ असोज – सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप आज सार्वजनिक बिदा दिएको छ।
भदौ ३० गते बसेको अन्तरिम मन्त्रिपरिषद् बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसअनुसार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा आज सार्वजनिक बिदा छ। साथै, राष्ट्रिय झण्डा आधा झुकाइने व्यवस्था गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार आज सार्वजनिक बिदा भएको जानकारी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।”


