काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज (शनिबार) रातिदेखि भोलि (आइतबार) विहानसम्म अति भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार बोलाइएको बैठकमा उनले शनिबार राति ८ बजेदेखि आइतबार विहान ८ बजेसम्म अति भारी वर्षा र विशेषगरी राति १० बजेदेखि विहान २ बजेसम्म बढी जोखिम रहने जानकारी दिए ।
महानिर्देशक जोशीले बागमती, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका बासिन्दालाई सतर्क रहन आग्रह गरे । साथै, नदी किनारमा बस्ने नागरिक र यातायातमा संलग्न सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरे ।


