Monday, January 13, 2025
Homeदेश र प्रदेशआज रंगको पर्व होली मनाइँदै : भेला भएर नखेल्न आग्रह, स्वास्थ्य मापदण्डको...

आज रंगको पर्व होली मनाइँदै : भेला भएर नखेल्न आग्रह, स्वास्थ्य मापदण्डको पालना नगरे कारवाही !

काठमाडौं, १५ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली मनाउने चलन छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

भेला भएर होली खेल्न निषेध !

यो वर्ष पनि कोरोना भाइरसको प्रभावले गर्दा फागु पर्वमा भेला भएर होली नखेल्न सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भेला भएर, भीड जम्मा गरेर होली नखेल्न भनिसकेको छ।

काठमाडौं प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ। बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड-१९ को संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

यसरी सार्वजनिक स्थानमा आउँदा जाँदा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने गृह मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले ‘होलीमा हूल तथा ठूला जमघटबाट टाढा बसौँ, कोरोना होइन, माया बाँडौँ’ भनेर सन्देश प्रवाह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका