काठमाडौँ, ३ असोज- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ।
महाशाखाले आज मुलुकभर साधारणतया बदली रहने जानकारी दिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा आंशिक बदली मात्र रहने विभागले जनाएको छ। यस अवधिमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम बढ्ने, ठूला तथा साना नदीनालामा पानीको सतह उच्च हुने, यातायात अवरुद्ध हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न सबैलाई अनुरोध गरेको छ।


