Friday, February 7, 2025
Homeसामाचारआज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं: आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ लाई मकर संक्रान्ति भनिन्छ। आजदेखि उत्तरायण सुरु हुने हुँदा दिन लामो र रात छोटो हुँदै जाने खगोलीय तथ्य छ।

पवित्र स्नान र पुण्यका गतिविधि
माघे संक्रान्तिका अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। धार्मिक मान्यताअनुसार आज स्नान गरी तिल दान गर्नाले सुन दान गरे बराबरको पुण्य प्राप्त हुन्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, आज घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने, दान गर्ने, ध्यान र साधनामा लिनुपर्ने उल्लेख छ। यस्ता गतिविधिले धार्मिक पुण्यका साथ मनोकामना पूरा हुने विश्वास छ।

थारू समुदायको नयाँ वर्ष ‘माघी’
थारू समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँदै पाँच दिनसम्म पर्वको उत्सव मनाउने परम्परा छ। यस दिन बिहानै जलाशयमा स्नान, पूजा, र ठूला-बडाबाट आशीर्वाद लिने चलन छ। बेलुकी घरघरमा धुनी जगाएर सामूहिक भोजसहित रमाइलो गरिन्छ।

थारू समुदायमा यस अवसरमा गाउँका मुखियादेखि अन्य जिम्मेवारी पदाधिकारीको चयन गरिन्छ। सहमति हुन नसके निर्वाचनमार्फत निर्णय गरिन्छ। यो सहमति वा निर्णयलाई ‘माघी देवानी’ भनिन्छ, जुन एक वर्षसम्म मान्य हुन्छ।

खानपिन र तिलको विशेष महत्त्व
माघे संक्रान्तिमा खाइने तिल, चाकु, तरुल, र खिचडीले शरीरलाई न्यानो राख्ने र त्रिदोष नाश गर्ने आयुर्वेदिक गुण हुन्छ। तिलले स्नान गर्नु, तिलको तेल मालिस गर्नु, र तिल खानुले चिसो मौसममा स्वास्थ्य लाभ हुने विश्वास छ।

धार्मिक र सांस्कृतिक महत्त्व
महाभारतका भीष्मले सूर्य उत्तरायणपछि शरीर त्यागेको धार्मिक कथाले आजको दिनको पुण्यलाई अझ महत्त्वपूर्ण बनाउँछ। स्कन्द पुराणमा उल्लेखित माघमाहात्म्यले माघ महिनाभर स्नान र पूजाको महिमा गाएको छ। पुस शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रत कथा माघ शुक्ल पूर्णिमासम्म चल्छ।

कृषि जैविक विविधता दिवसको आयोजना
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउँदै छ। तरुल, सखरखण्ड, पिँडालु, र वनतरुलजस्ता परम्परागत कन्दमूलको उपभोग र संरक्षण गर्न यो दिवस मनाइँदै आएको मन्त्रालयले जनाएको छ।

माघे संक्रान्तिले सांस्कृतिक विविधता र आपसी सहकार्यलाई पनि प्रोत्साहन दिएको छ। पर्वले धार्मिक, सामाजिक, र प्राकृतिक महत्त्वलाई एकैसाथ उजागर गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका