काठमाडौँ: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमहरूका साथ मनाइँदैछ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सुपुत्रका रूपमा जन्मिएका पृथ्वीनारायण शाह विसं १७९९ चैत २५ गते नेपालका राजा बनेका थिए। त्यसबेला नेपाल ५२ राज्यमा विभाजित थियो। राजगद्दी सम्हालेलगत्तै उनले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न सफल भए। पृथ्वीनारायण शाहको निधनपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म राज्यको सीमा पु¥याएको इतिहास छ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेपछि विसं १८२६ मा काठमाडौँ उपत्यकाको विजय हासिल गरेका थिए। उपत्यका विजयपछि उनले पूर्वका चौदण्डी, विजयपुरलगायतका क्षेत्रहरू विजय गरी नेपालको सीमा विस्तार गरे।
सबै जातजाति र भाषाभाषीको सहयोगमा नेपाल एकीकरणको अभियान सुरु गरेका पृथ्वीनारायण शाहको सम्मानमा देशभर विविध कार्यक्रम गरिँदैछ। यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम आयोजना गरिनेछ। हरेक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम हुने परम्परा छ।