काठमाडौं । देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेको छ।
हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि सामान्य बदली छ भने ती प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको मौसमविद्ले बताएका छन्।
आज दिउँसो देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने कोशी, मधेश र बागमतीका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
मौसम महाशाखाका अनुसार हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ। त्यसैगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, बागमती प्रदेशका पहाडी र तराईका थोरै स्थान, मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा विशेषगरी कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानाला आसपास बसोबास गर्ने, पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।


