काठमाडौं । संघीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक सोमबार बस्दै छन्। बैठकहरूमा विधायन कार्यान्वयन, अनुगमन प्रतिवेदन तथा राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारितालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।
दिउँसो २ः१५ बजे बस्ने विधायन व्यवस्थापन समिति बैठकमा ऐन कार्यान्वयनको मापन, विधायिकी अन्तरसम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल हुने तय भएको छ।
त्यसैगरी, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा गरिएको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल गरिनेछ।
यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।


