७ वैशाख, काठमाडौं । नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाइन्छ ।
चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैंका अवसरमा विशेष पूजा हुन्छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । यस अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
हनुमानढोकामा बलिसहितकाे पूजा
आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । दशमीका दिन मान्यजनबाट टीका जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ । चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दशैं घरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ ।
प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैं घरमा चैते दशैंका दिन पनि बलिसहितकाे पूजा गरिन्छ । पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामना गरिन्छ ।
यस वर्ष पनि मंगलबार बिहान पूजा आराधना गरी ५४ बोका र ५४ राँगाको बलि दिने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । बडा दशैंमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ ।
गत वर्ष चैते दशैंमा भने कोरोनाभाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिई पूजा मात्र गरिएको थियो । चैते दशैंमा कोरोनाभाइरसको महामारीका कारण पहिलोपटक बलि पूजा रोकिएको थियो ।
चैत्र शुक्ल प्रतिपदादेखि नै दशैं घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ पनि भइरहेको छ ।
अनलाईनखबर बाट साभार