काठमाडौँ । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हिंसात्मक उग्रवादविरुद्ध चेतना विस्तार र अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउने उद्देश्यले यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सुरु गरिएको यो दिवस मनाउन थालेको चौथो वर्ष पुगेको छ । राष्ट्रसङ्घको प्रधान कार्यालयका साथै विश्वका विभिन्न मुलुकस्थित राष्ट्रसङ्घीय कार्यालय, अन्तरसरकारी संस्था, नागरिक समाज, धार्मिक अगुवा, निजी क्षेत्र, शैक्षिक संस्था र सञ्चारमाध्यमका प्रतिनिधिहरूले एकत्रित भई हिंसात्मक उग्रवाद रोकथामका लागि ऐक्यबद्धता प्रकट गरिरहेका छन् ।
राष्ट्रसङ्घले आतङ्कवाद र हिंसात्मक उग्रवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिएको छ । साथै, हिंसात्मक उग्रवाद रोक्न विश्व समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।
संवाद, साझेदारी र समुदायको नेतृत्वमा आधारित समाधानमार्फत हिंसात्मक उग्रवादका मूल कारणहरू पहिचान गरी रोकथामका प्रयास गर्नुपर्ने राष्ट्रसङ्घको भनाइ छ । दीर्घकालीन शान्ति र स्थायित्व कायम गर्न सुरक्षात्मक उपाय मात्र पर्याप्त नहुने भन्दै सामाजिक, आर्थिक र वैचारिक पक्षलाई समेत समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
यस अवसरमा राष्ट्रसङ्घले विश्वभरका नागरिक तथा संस्थाहरूलाई साझा जिम्मेवारी वहन गर्दै सहकार्यमा आबद्ध हुन आह्वान गरेको छ ।


