काठमाडौं: आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार यस दिवसको रूपमा मनाइने गरिन्छ।
यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस ‘सहकारीः राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ भन्ने नाराका साथ मनाइँदैछ। उक्त नाराले सहकारी संस्थाहरूले असमानता अन्त्य, गरिबी न्यूनीकरण, रोजगारी सृजना तथा वातावरण संरक्षणमा पुर्याउने महत्त्वपूर्ण भूमिकालाई उजागर गर्छ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) ले सन् १९२३ देखि सहकारी दिवस मनाउन सुरु गरेको हो। सन् १९९५ देखि संयुक्त राष्ट्रसंघले पनि सहकारीको सामाजिक, आर्थिक र सांस्कृतिक योगदानको कदर गर्दै यो दिवसलाई अन्तर्राष्ट्रिय सहकारी दिवसका रूपमा औपचारिक मान्यता दिएको हो।
सहकारीलाई समान इच्छा, आकांक्षा र परिस्थिति भएका व्यक्तिहरूबीच आपसी सहयोग र प्रजातान्त्रिक नियन्त्रणको माध्यमबाट आर्थिक तथा सामाजिक उत्थानका लागि गरिने एक साझा प्रयासको रूपमा बुझिन्छ। सहकारी आन्दोलनले विश्वव्यापी रूपमा समुदायको समावेशी विकासमा योगदान दिँदै आएको छ।


