काठमाडौं — आज विश्वभर विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ । बिहीबार ‘हमाल र त्यसभन्दा बाहिर: पानी, खाना र जीविकोपार्जनका लागि हिमनदीहरू महत्त्वपूर्ण छन्’भन्ने नारासहित सन् २०२५ को अन्तर्राष्ट्रिय पर्वत दिवस मनाउन लागिएको
हो ।
यस वर्षको नाराले हिमनदीहरूको महत्त्वलाई विशेष रूपमा उजागर गरेको छ । हिमनदी पग्लिने क्रम तीव्र हुँदै जाँदा पहाडदेखि तराईसम्म पानी आपूर्तिमा असर पुग्ने, कृषि उत्पादन घट्ने र पहाडी समुदायको दैनिकी जोखिममा पर्न सक्ने विज्ञहरू बताउँछन् । त्यसैले हिमनदी संरक्षण पहाडका लागि मात्र नभई समग्र जीवन, प्रकृति र भावी पुस्ताका लागि अत्यन्तै आवश्यक विषय बनेको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि प्रत्येक वर्ष डिसेम्बर ११ मा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रहरूमा मनाइँदै आएको छ । यस अवसरमा रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ) को प्रधान कार्यालयमा पर्वतीय जीवन, हिमनदी र वातावरणसम्बन्धी प्रवचन, प्रदर्शनी तथा विविध कार्यक्रम आयोजना भइरहेका छन् ।
राष्ट्रसङ्घका अनुसार विश्वको करिब दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले जलस्रोत सङ्कटमा परेका छन् भने हिमनदी पग्लिने दर पनि बढ्दो छ । विश्व तापक्रम वृद्धि जारी रहेमा थप हिमनदीहरू नष्ट हुने खतरा रहेको भन्दै यो दिवसले यस्ता चुनौतीप्रति विश्व समुदायलाई सचेत गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास र सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।
नेपालका सन्दर्भमा अन्तर्राष्ट्रिय पर्वत दिवसको महत्त्व अझ गहिरो छ । विश्वका १४ वटा आठ हजार मिटरभन्दा माथिका हिमालमध्ये आठ वटा नेपालमै अवस्थित छन् । यी हिमालहरू केवल भौगोलिक पहिचान मात्र नभई नेपालको संस्कृति, आध्यात्मिकता, पहिचान र अर्थतन्त्रका पनि महत्वपूर्ण आधार हुन् ।


