Sunday, November 8, 2026
Homeसामाचारआजदेखि सुदूरपश्चिमका २८ स्थानबाट चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन हुने

आजदेखि सुदूरपश्चिमका २८ स्थानबाट चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन हुने

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिममा सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विभिन्न जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार आजदेखि विभिन्न जिल्लामा पसल सञ्चालन हुँदैछन् ।

“सुपथ मूल्य पसलमार्फत दुई प्रकारका चामल र चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटमा उपलब्ध गराइनेछ,” उनले बताए, “सेवाग्राहीले नजिकैको सुपथ मूल्य पसलबाट सेवा लिन सक्नेछन् ।”

यसअन्तर्गत कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको महेन्द्रनगर शाखा कार्यालय, डोटीको खलङ्गा बजार र मौवानगर खरिद–बिक्री केन्द्रमा पसल सञ्चालन हुनेछन् । त्यस्तै, बाजुराको मार्तडी शाखा कार्यालय, कोल्टी डिपो कार्यालय, धुलाचौर, बिच्छाया र पाण्डुसैन बिक्री केन्द्र, बैतडीको गोठालापानी, परचौडीहाट, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद–बिक्री केन्द्रमा पनि सुपथ मूल्य पसल सञ्चालन हुनेछ । दार्चुलाको शाखा कार्यालय, सुनकेसरा, हिकिला र खण्डेश्वरी खरिद–बिक्री केन्द्र, अछामको मङ्गलसेन, सैनाबजार, साफेबगर र कमलबजार खरिद–बिक्री केन्द्रबाट समेत पसल सञ्चालन हुने जनाइएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । कार्यालय प्रमुख तेजबहादुर कँुवरका अनुसार नुनमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ, तेल, चिउरा, पीठो, मैदा र दालमा प्रतिकिलो सात रुपैयाँसम्म छुट दिइनेछ ।

साल्ट ट्रेडिङका सुपथ मूल्य पसल डडेलधुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल र बैतडीको पाटनबाट सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका