काठमाडौँ: हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण पहाडी भू-भागमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम सफा रहेको छ।
विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातिको अवस्थामा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ।
आगामी २४ घण्टामा यी क्षेत्रमा हुने सम्भावित हल्का वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।


