काठमाडौँ: हाल देशभर पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक असर पारेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती लगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी क्षेत्रमा मौसम प्रायः सफा वा आंशिक बदली रहेको छ।
बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हाल चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।
महाशाखाले सातै प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


