सल्यान — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बिरामीलाई भर्ना लिन नमानेपछि छत्रेश्वरी गाउँपालिका २ का ४९ वर्षीय पुरुषको एम्बुलेन्समै मृत्यु भएको छ । प्रतिष्ठानले भर्ना लिन नमानेपछि उपचारका लागि सल्यान फर्काउँदै गर्दा बाटोमै बिरामीको मृत्यु भएको हो ।
रुघाखोकी र ज्वरोबाट ग्रसित भएका ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि आफन्तले उपचारका लागि प्रतिष्ठान पुर्याएका थिए । कोरोनाका बिरामीले बेड खाली नभएको भन्दै अस्पतालले भर्ना गर्न नमानेको मृतकका आफन्तले बताएका छन् ।
‘हामीले बिरामीको भर्नाका लागि धेरै प्रयास गरेका थियौँ तर हाम्रो केही लागेन । अस्पतालले पनि भर्ना लिन मानेन,’ मृतकका एक आफन्तले भने, ‘बिरामीको अवस्था गम्भीर बन्दै गएपछि हामी आत्तियौँ र घरतिर फर्काउन बाध्य भयौँ ।’
प्रतिष्ठानले भर्ना लिन नमानेपछि आफन्तले बिरामीलाई फर्काएर छत्रेश्वरी गाउँपालिको भोटेचौरमा सञ्चालित आइसोलेसन लगेका थिए । तर त्यहाँ ल्याउँदा उनको मृत्यु भइसकेको आइसोलेसनमा कार्यरत डा. प्रोसेस सिंहले बताए । मृत्यु भएका बिरामीको स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको उनले बताए ।