Saturday, November 7, 2026
Homeसामाचारअस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

काठमाडौं। छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदै गरेको सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजाको परम्परा अनुसार भक्तजनले सोमबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन्।

देशका विभिन्न स्थानका साथै काठमाडौंको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, बागमती, नख्खु र विष्णुमती नदी किनारमा समेत भक्तजनले अर्घ्य प्रदान गरी पूजाआराधना गरेका छन्। छठ व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि शुद्ध र चोखो खानपान गर्दै व्रत बसेका छन्।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सूर्यदेवको आराधना गरेका थिए। सोही समयदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको मान्यता छ। सूर्य पुराण अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन्, जसले उनलाई अटल सौभाग्य र पतिप्रेम प्राप्त भएको किम्वदन्ती उल्लेखित छ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने विश्वास छ। झुप्पा–झुप्पा फल चढाउँदा सूर्यदेव प्रसन्न भएर व्रतालु र उनका परिवारका सबै सन्तानको भलो हुन्छ भन्ने जनविश्वास पाइन्छ। षष्ठीका दिन रातभर जागा बसेर, सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिने क्रममा यो पर्व सम्पन्न हुन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका