Wednesday, September 23, 2026
Homeसामाचारअसोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको...

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको अपिल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन नागरिकलाई अपिल गरेका छन्।

मौसम पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रान बहावका साथै सडक र हवाई यातायातमा अवरोध हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रधानमन्त्री शाहले वर्षा भइरहेको समयमा तथा रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न र नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजनामा रहेकालाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ। मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि प्रधानमन्त्री शाहले अपिल गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका