Thursday, June 25, 2026
Homeसामाचारअसोज बाढीपहिरो : काभ्रेमा पानीका मुहान पुनर्जिवित कार्यक्रम प्रभावित

असोज बाढीपहिरो : काभ्रेमा पानीका मुहान पुनर्जिवित कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक: गत असोजमा आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लाका सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनर्जिवीत कार्यक्रम प्रभावित बनेको छ।जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रको पानीको समस्या समाधान गर्न तथा स्थानीय समुदायको नेतृत्वमा पानीका मुहान संरक्षण गर्ने उद्देश्यसहित सम्झौता गरेका थिए।

सन् २०२४ को जनवरी पहिलो साता अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग सात स्थानीय तहका जनप्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। तर, कार्यक्रम सञ्चालनको तयारीस्वरूप विभिन्न समुदायमा छलफल चलाउने क्रममा असोजको बाढीपहिरोका कारण अभियान रोकिएको छ।”केही स्थानमा सुकेको मुहान पहिचान गर्दै छलफल गरिरहेका थियौँ, तर बाढीपहिरोले यो अभियान प्रभावित बनायो। धेरै मुहान र आयोजनाहरू नै क्षतिग्रस्त भएका छन्,” रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो। उहाँका अनुसार अब क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै पानीका मुहान पुनर्जिवीत कार्यक्रमलाई अघि बढाउनुपर्ने देखिएको छ।इसिमोडले कार्यक्रमलाई प्राविधिक सहयोग गर्नेछ भने स्थानीय तहहरूले आ–आफ्ना तर्फबाट सहकार्य र स्रोत उपलब्ध गराउने सहमति गरिएको छ। धुलिखेल, पाँचखाल, नमोबुद्ध र पनौती नगरपालिकासहित रोशी, बेथानचोक र तेमाल गाउँपालिकाले पानीको असुरक्षा समाधान गर्न स्थानीय स्रोतको पहिचान,
मूल्यांकन तथा संरक्षण अभियानमा एक्यबद्धता जनाएका थिए।

नमोबुद्ध नगरपालिकामा पोखरी निर्माण

नमोबुद्ध नगरपालिकाको वडा नं. ३ र ५ मा सुकेको दुई मुहान पुनर्जीवित गर्न पोखरी निर्माण गरिएको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार अन्य दुई मुहान पुनर्जीवनका लागि प्रक्रिया अघि बढिरहेको छ।सन् २०२३ मा गरिएको सर्वेक्षणअनुसार नगरका ४४४ मुहानमध्ये २० प्रतिशत पूर्ण रूपमा सुकिसकेका छन्, भने अधिकांशमा पानीको प्रवाह घट्दो क्रममा रहेको छ।

बाढीपहिरोका कारण अभियान प्रभावित

पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले सुकेका मुहान पुनर्जीवित गर्ने अभियान जारी रहे पनि बाढीपहिरोका कारण प्राथमिकता परिवर्तन भएको बताउनुभयो।”मुहान पहिचानको काम अघि बढ्दै थियो, तर बाढीपहिरोपछि राहत, उद्धार तथा खानेपानी संरचनाको पुनःस्थापनामा केन्द्रित हुनुपरेको छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार मुहान पुनरुत्थानले खानेपानी आयोजनामा अपुग पानीको माग समेत पूरा गर्नेछ।

हिन्दुकुश हिमालय क्षेत्रमा पानीका मुहान जोखिममा

इसिमोडका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा पानीका मुहान क्रमशः सुक्दै गएका छन्। पहाडी समुदायको पिउने पानी, पशुपालन तथा खेतीका लागि स्थिर जलस्रोतको आवश्यकता रहेको तर जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक दोहन र भूमि प्रयोग परिवर्तनका कारण मुहानहरू संकटमा परेको उल्लेख गरिएको छ।सम्झौताअनुसार इसिमोडले पानीका मुहानको स्थान र स्थितिको अध्ययन, पुनर्भरण क्षेत्रको पहिचान, पानीको प्रवाह सुधार, जैविक विविधताको मूल्याङ्कन तथा जलवायु परिवर्तनको असर सम्बन्धी अनुसन्धानमा सहयोग गर्नेछ।यदि कार्यक्रम सफल भए, काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहहरूमा समेत क्रमशः विस्तार गर्ने लक्ष्य राखिएको छ। प्रतिवेदनअनुसार हिन्दुकुश हिमालय क्षेत्रमा करिब ९० लाख मुहान रहेका छन्, जसले लाखौँ मानिसलाई पानीको स्रोत प्रदान गर्दै आएका छन्।इसिमोडको मुख्यधार संरक्षण तथा पुनरुत्थान अभियानले स्थानीय सरकारलाई दीर्घकालीन योजनामा मुहान व्यवस्थापनलाई प्राथमिकता दिन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका